Thursday 11 July 2013

गनथन

गीतको कथा– ‘म मरेको पल…’ (वीरेन्द्र राई)
             भनिन्छ, संगीत मन नपराउने मानिस कोही छैन । संगीतको झंकारले गर्भको शिशु पनि खितखिताउँछ रे । गीत सुनेर हामी धुन र शब्दमा बहकिँदै आनन्दित हुन्छौं । पीडाको गीतमा समभाव राख्दै सुकसुकाउँदै मनैदेखि हल्का पनि बन्छौं । गीतका शब्दलाई आफ्नै बुझाइअनुसार लिएर समभावमा बग्नु नै स्रोताको विशेषता हुने गर्छ । यस्तै ग्रहणशीलताका कारण कतिपय साना आयामका र सामान्य गीत पनि लोकप्रियता र प्रसिद्धिका हिसाबले चुलीमा पुग्छन् । हामीले आफ्नै दृष्टिले गीतलाई हेरे पनि र एउटा अनुमानमा बुझे पनि कुनै गीतको कथा र गीत लेखिनुको रचनागर्भ खास के हुन्छ त ? यही खोतल्ने प्रयासस्वरुप ‘गीतको कथा’ स्तम्भ ब्लगमा सुरु गर्दै छु । गीतकारसँग उहाँले लेखेको कुनै एक चर्चित गीतको सेरोफेरोमा रहेर गरिएको कुराकानीलाई उहाँकै शब्दमा प्रस्तुत गरिनेछ । आशा छ, मन पराउनुहुनेछ । यसबाट गीतलाई अझ नजिकबाट बुझ्न र पारख गर्न सहयोग पुग्ने ठानेको छु ।
यस पटक खोटाङ जिल्लाका गीतकार वीरेन्द्र राईले लेखेको र सुरेश अधिकारीले स्वर र संगीतबद्ध गरेको चर्चित गीत ‘म मरेको पल तिमी डोली चढ्नु’को चिरफार ।

उनी मरेको पल - वीरेन्द्र राई

Birendra-Rai.सानो छँदा रेडियो नै सञ्चारको एकमात्र साधन थियो । रेडियो नेपाल सुन्दै हुर्किँदा गीतहरू सुन्ने क्रममा आफू पनि यस्तै गाउन पाए हुन्थ्यो भन्ने रहर पलाउँथ्यो । त्यसबेला लेखक-कवि बन्छु भन्ने लागेकै थिएन । २०४० सालमा एलएलसी परीक्षा दिएर उच्च शिक्षा पढ्न खोटाङबाट काठमाडौँ आएपछि कवि-लेखकहरूसँग सरसंगति बढ्दै जाँदा लेख्न थालें । गाउने सोच पनि बोकेर आए पनि गायक बन्नलाई सुर-तालको ज्ञान चाहिने रहेछ भन्ने बुझेपछि यो बाटो मेरो होइन भन्ने लाग्यो र फनक्कै मोडिएँ ।
 
'म मरेको पल' २० वर्षअघि लेखेको गीत हो । यसको चर्चा आजसम्म पनि भइरहँदा गीतकारको मन गदगद हुन्छ । यो गीत लेखिनुमा कारुणिक विगत छ । त्यसले मलाई बेलाबेला मर्माहत पारिरहन्छ । २०४० सालताका म पत्रमित्रता निकै गर्थें ।
देशका कुना-कन्दरामा पत्रमित्र बन्ने-बनाउने समय थियो त्यो । मोबाइल फोनको प्रचलन आएकै थिएन । गोरखापत्र संस्थानबाट छापिने युवामञ्च पत्रिकामा पत्रमित्र बन्नका लागि शिक्षा, उमेर, रुचि र सम्पर्क ठेगानासहित फोटोहरूको सूची नै छापिएर आउँथ्यो । त्यसै क्रममा पत्रमित्र स्तम्भमा चितवन टाँडी ठेगाना भएकी अस्मिता थापा (क्षेत्री) नाम गरेकी केटीलाई देखें । उनको रुचि पनि साहित्य र संगीत देखेपछि चिठी पठाएँ ।

चिठी आदानप्रदान बढ्दै गएर हामी बलियो पत्रमित्रमा दरियौँ । दुई-तीन वर्ष चल्यो चिठीको क्रम । म ल क्याम्पसमा पढ्दै थिएँ, उनी पनि चितवनमा आईएड पढिसकेर बीएड पढ्न राजधानी आइन् । हाम्रो भेट भएपछि झनै गाउँघरकै जस्तो घनिष्ट साथी भयौँ । त्यो नितान्त स्वच्छ मित्रता थियो ।

उनी बागबजारको डेराबाट वानेश्वरको मेरो घरमा आउने क्रम सुरु भयो । म दिदीसँग बस्थेँ । कुनैबेला अस्मिता हप्ता-दस दिनसम्म पनि हाम्रैमा बस्थिन् । मेरो दिदीसँग पनि उनको राम्रो घुलमिल भयो । दिदी र हाम्रै छिमेकमा बस्ने दिदीकी मितिनीले मिलेर उनलाई हाम्रो भाइसँग विवाह गर्नुपर्छ है भनेर जिस्क्याउँदा रहेछन् । अस्मिता लजाउँदै त्यस्सै मक्ख पर्दिरहिछिन् । म त आफ्नै तालमा बहकिएर हिँड्ने भएकाले र उनलाई विशुद्ध साथी मात्र ठानेकाले त्यस्तो केही सोचेकै थिइनँ । दिदीहरूको कारण हाम्रो चर्चा झ्यांगिन थालेपछि एकदिन मैले के हो कुरा, हामी साँच्चै विवाह गर्न सक्छौँ त भनेर उनलाई सोध्दा घरमा सोध्नुपर्छ भन्ने जवाफ आयो । ४३-४४ सालतिर अन्तरजातीय विवाहका लागि हाम्रो सामाजिक सोचाइ आजको जस्तो उदार थिएन । उनी फेरि सेनाको कर्र्णोलकी छोरी रहिछिन् । आपसमा कुरा भएपछि हामी डेटिङ जान थाल्यौँ, तर हामी दुईजना मात्र कहिल्यै गएनौँ । कहिले उनको साथी, कहिले मेरा साथीहरू साथै हुन्थे । पछि चितवन गएर उनले विवाहको लागि घरबाट अनुमति मिलेन भन्ने खबर पठाइन् । अनि मलाई यो त खासमा प्रेम होइन रहेछ भन्ने लाग्यो । सुरुमा साथी मात्र भनेर त्यति ख्याल नगरे पनि हामीबीच सम्बन्धको कुरा भएपछि म त प्रेम मानेर एकोहोरिन थालेको थिएँ । मैले अन्तिम चिठी लेखें उनलाई-
प्रिय अस्मिता,
अशेष प्यार ।
म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू ।
- तिम्रो वीरेन ।

चिठीको जवाफ आएन । त्यो सम्बन्ध त्यत्तिकै काटियो । त्यो चिठीका पंक्तिलाई पछि मैले गीतको रूपमा लेखेँ । २४ वर्षे पट्ठो थिएँ । सुरेश अधिकारीको स्वर र संगीतमा रेकर्ड भएर रेडियोमा बज्न थाल्यो । अकस्मात् एक दिन नेपाल टेलिभिजनमा अस्मिताले बागबजारमा झुन्डिएर आत्महत्या गरेको खबर आयो । २०४७ सालको घटना हो यो । मैले गीतमा आफू मर्ने कुरा लेखेको थिएँ, उनको मृत्युको खबर सुन्नुपर्‍यो । आत्महत्या गर्दा उनले आफ्नो लुगाभित्र मैले लेखेका चिठी, मसँग खिचेका फोटोहरू राखेको फेला परेछ ।
 
उनले 'यो जुनीमा त तिम्रो हुन सकिनँ, अर्को जुनीमा हुने वाचाका साथ बिदा' भन्ने आशयसहितको आफ्नो अन्तिम चिठी पनि छाडेकी रहिछिन् । उनले रेडियोमा 'म मरेको पल' गीत सुनेर फर्किएर आउने हिम्मत गर्न नसकेको, परिवारको कारण विवाहको प्रस्ताव स्वीकार्न नसकेको र आफू अरु कसैको हुन नसक्ने देखेपछि आत्महत्या गरेको कुरा पनि चिठीमा लेखेकी थिइन् । मलाई प्रेम गरे पनि उनी परिवार र समाजसँग जुध्न सकिनन् । बीचमा उनले के-कस्तो अवस्थाको सामना गर्नुपर्‍यो, फोन सम्पर्कको माध्यम नभएकाले मैले बुझ्न पनि पाइनँ । उनको मृत्युपछि निकै विरही भएर काठमाडौँका सडकहरूमा डुलें । उनी नमरेकी भए मैले लेखेका सयौँ गीतका पाठक बन्थिन् । समयको लेखा, त्यतिबेला हाम्रो विवाह पनि हुन सक्थ्यो ।

केटीहरूप्रतिको मेरो उदासीनताका कारण मैले समयमै उनको प्रेम चिन्न सकिनँ । केटीहरुभन्दा बढी गीतमै माया बस्यो ।  'लभ ट्राजेडी'को पराकाष्ठा हो यो गीत । रेडियो नेपालको गीतिकथामा हरिभक्त कटुवालले लेखेको 'मलाई नसोध कहाँ दुख्छ घाउ' भन्ने गीतको ठाउँ लिने गीत बन्दा गर्व लाग्छ । रेकर्ड भएका मेरा चार सयजति गीतमा यही गीतले मलाई बढी चिनाएको छ ।

२०५१ सालमा विवाह गरेपछि श्रीमतीलाई मेरो विगतको प्रेम भन्दै अस्मिताको कुरा सुनाएको थिएँ । त्यसैले श्रीमती अझै पनि बेलाबेला म त कान्छी पो रै'छु भनेर गनगन गर्छिन् । म भने त्यो प्रेम सम्झेर अझै पनि भक्कानिन्छु ।
----------------------------------------------------------
म मरेको पल तिमी डोली चढ्नू
हर्षाश्रु झार्दै रोए जस्तो गर्नू, दुःखे जस्तो गर्नू

विश्वासको मन्दिर भत्काइदिन सक्थ्यौ
ढलाइदिन सक्छौ
आश्वासनको वाचा बदलिदिन सक्थ्यौ
भुलाइदिन सक्छौ
निरस यो सपना रित्तो छ जीवन
बदनामी पिँजडा कैदी छ यो मन
म मरेको पल ...

व्यथालाई समेटी विस्मृतिमा भुल्छु
उदासीमा डुब्छु
रंगिएको सिउँदो भ्रान्तिभित्रै रम्छु
तरंगमा झुम्छु
सुकेको पलाँसलाई वसन्तले के भो
यो पागल तिमीले नचिने'नि के भो
म मरेको पल ...

रचना : वीरेन्द्र राई
स्वर/संगीत : सुरेश अधिकारी

No comments:

Post a Comment