Keshar Thulung |
यो शून्यनीलो आकासको मूनि
ठिङ्ग उभिरहेको हिमालजस्तै- म
कहिल्यै नरोकी सलल बगिरहेको नदिजस्तै- म
निरन्तर यात्रामा लम्किरहेको
यो गतिशिल समयजस्तै- म
यो विशाल पृथ्वीको
कुन ठाउँमा कहाँनेर छु
यतिमात्र थाहा छ
मेरो बुवाको वीर्यको वीजन- म
र मेरो आमाको गर्भमा हुर्केर
पहिलो चोटी यो धरातलमा
पाइला टेकेको मान्छे- म
मान्छे हुनुको अर्थमा
आफूलाई मान्छे बनाइरहेको छु
तर, कहाँनेर छु
सगरमाथाको चुचुरोमा
या समुद्रको पीँधमा
खोचमा या डाँडामा
भञ्ज्याङ्मा या कुनै सुन्दर पार्कमा
नागासाकीमा या हिरोशिमामा
गल्लीको कुनै छाप्रोभित्र या डिस्कोमा
प्रशान्त महासागरमा
या फक्ल्याण्डको टापुमा
साहारा डीजर्टमा
या पृथ्वीको गोलार्धमा
या कुनै ग्रहको परिधीमा
खोई, कहाँनेर छु
हो, त्यसैले खोजिरहेछु
आफ्नो अस्तित्व यतिबेला- म
इतिहासको पन्ना-पन्नामा
शिलालेखको हरेक शब्द-शब्दमा
यो माटोको चपरी-चपरीमा
अनि यो ढुङ्गाको पत्र-पत्रमा ।
No comments:
Post a Comment