Friday 12 July 2013

कविता

पानी खोटाङमा तिर्खा काठमाडौंमा

 
Image
Bam Baniya
(बम बानिया)
आँ… मुख बाएर लाइनमा बस्छ
घण्टौँ पर्खिएर रित्तै फर्किन्छ
भाँडो प्लास्टिकको केवल पाँच लिटरको
काठमाडौँमा
त्यसै लाइनमा मेरो मन
रावा र सावाका छालहरुमा डुबुल्की खेलिरहेको हुन्छ
साप्सुको मुहान
रुपाकोट मेरुङ र ट्याम्के चुम्दै बगेका झरनाहरु
प्यास उडेर पुग्छ खोटाङमा

तिर्खाएको मेरो आत्मा
निन्द्राभर पाचेखोलामा नुहाइरहेको हुन्छ
पान्धारेमा कलकल पिइरहेको हुन्छ
न यसलाई फिल्टर चाहिन्छ
न वाटरगार्ड नै

झसङ्ग ब्यँूझदा मेरो तिर्खा सुरु भइसकेको हुन्छ
मेरा अगाडि हुन्छन् ती रित्ता भाँडाहरु
मेरो दिउँसोले सधैँ
बागमती र विष्णुमतकिो लेदो देख्छ
मेरो रातले सधैँ
तापखोलामा माछा नाचिरहेको देख्छ
कहिलेकाहीँ त यस्तो लाग्छ
काठमाडौंका प्यासीहरुलाई
साप्सुका छालमा चोभल्दिउँ
अमृत जल छर्किदिउँ
अनि जीवन शुद्ध र पवित्र पार्दिउँ

म पनि
तृष्णाको खेती गर्दै पर्खिरहेछु
अनुहार चम्काउन
खलखली मुहानमै थापिन
एक लोटा नबिसाई पिउन

No comments:

Post a Comment